Chairperson’s Message
अध्यक्षको सन्देश
स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प भन्ने मूल नाराका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स सामूहिक लगानी भएको बृहत् योजनासहितको उद्योग हो । मेरो व्यावसायिक यात्राको प्रारम्भ नै औषधि व्यवसायबाट भयो । यसमा मसँगै अधिकांश प्रबन्धकको पनि लामो समयसम्मको औषधि व्यवसायका अनुभव जोडिएका छन् । पर्वत र म्याग्दीको भूमिबाट विस्तारित औषधि व्यवसायले जन्माएको ओम मेगाश्री फर्मास्युटिकल्स मेरो जीवनको स्वप्न योजना हो; जसलाई मैले डोका र डोलाबाट प्राप्त आशीर्वादका रूपमा लिएको छु ।
मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवर्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्नु तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई हामीले हाम्रो प्रमुख दायित्व ठानेका छौँ । हामी उक्त दायित्वलाई मूर्त रूप दिन मन, वचन र कर्मले समर्पित छौँ । हालसम्म सरकारी तवरबाट न्यून उपस्थिति रहे तापनि निजी क्षेत्रबाट औषधि उत्पादन र प्रवर्धनमा विशेष भूमिका रहिआएको छ । यसै परिदृश्यमा देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष–परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको छ । यसर्थ यस उद्योगले उक्त परिकल्पनालाई यथार्थमा परिणत गर्न औषधि व्यवसायकै इतिहासमा पहिलो पटक आइपियोमार्फत सर्वसाधारणको लगानी सुनिश्चित गर्न लागिरहेको छ । जसले स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी बेरोजगार जनशक्तिको उचित व्यवस्थापन गर्ने छ ।
मैले दुई दशक लामो समय युरोपेली भूमिमा विभिन्न व्यवसायको नेतृत्व गरेर बिताएँ । एनआरएनएको केन्द्रीय नेतृत्व र त्यससम्बद्ध विभिन्न क्षेत्रसँग आबद्ध हुँदै गर्दा मलाई मेरो मातृभूमिको सम्झनाले बारम्बार झस्काइरह्यो । फलतः आफ्नै माटोमा व्यावसायिक यात्रालाई फैलाउने अभिप्रायले ओम मेगाश्रीलाई मूर्त रूप दिन मन, वचन र कर्मले एकबद्ध हुन पुगेँ । युरोपेली भूमिमा सफल व्यवसायीका रूपमा स्थापित भइसकेको व्यक्ति ती सबै कुरालाई पन्छाएर पुनः नयाँ कोणबाट व्यावसायिक जीवन प्रारम्भ गर्नु सहज थिएन । यद्यपि मातृभूमिले दिएको अपनत्व, लगानीकर्ताको सौहार्दपूर्ण साथ–सहयोग, सामूहिक प्रतिबद्धता, निर्णय, धीरता, इमानदारी र उत्तरदायित्वबोध; यी सबै संस्था स्थापनाका ऊर्जा बनेका छन् ।
विश्वको बदलिँदो परिदृश्य र प्रविधिको विकासलाई आत्मसात् गर्दै समयको पदचापमा हिँड्न उद्योग सदैव क्रियाशील रहिरहने छ । आधुनिक प्रविधिको उच्चतम प्रयोगले गुणस्तरको सुनिश्चितता गर्दै यसले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ चुस्त एवम् दुरुस्त राख्ने सन्दर्भमा हामी सचेत छौँ । औषधि आयातलाई प्रतिस्थापन गर्दै देशभित्रको औषधि आवश्यकतालाई परिपूर्ति गर्न टेवा पुर्याउने, रोजगारी सिर्जना गर्ने, औषधि उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन तथा वितरणमा प्रोत्साहन गर्ने र समग्र राष्ट्रको आर्थिक समृद्धिलाई टेवा पुर्याउने उद्देश्यलाई संस्थाले सदैव आत्मसात् गर्दै जाने छ ।
स्वास्थ्य सेवा जटिल बन्दै गइरहेको वर्तमान परिप्रेक्ष्यलाई हृदयङ्गम गर्दै सोको न्यूनीकरण गर्न प्रत्यक्ष जनसरोकारलाई सम्बोधन गर्ने हेतुले संस्थाले गुणस्तरीय र सर्वसुलभ औषधि उत्पादनलाई जोड दिँदै आएको छ । यसलाई उपभोक्ता तथा सरोकारवालाबाट प्राप्त सल्लाह–सुझावलाई ग्रहण गर्दै थप चुस्त एवम् दुरुस्त गराउन संस्था सदैव प्रतिबद्ध छ र रहने छ । हाम्रा सबै भौतिक संरचनाहरू, औषधि उद्योगमा जडान गरिएका सबै उपकरणहरू तथा अन्य आवश्यक औजारहरू WHO GMP Guideline अनुसारका छन् । हामी EU GMP का लागि युरोपियन विज्ञहरूसँग निरन्तर सम्पर्क र छलफलमा छौँ । सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरूसँगको निरन्तर छलफल, सल्लाह–सुझाव र उहाँहरूको पेसागत उपस्थितिलाई उच्च सम्मान गर्दै बजारको उचित व्यवस्थापनमा हामी एक भएर अघि बढिरहने छौँ ।
अतः ओम मेगाश्री फर्मास्युटिकल्स समग्रमा सामूहिक लगानी को विश्वसनीय प्रतिफल हो; विश्वास र निरन्तरतासहितको सहकार्य हो । यसमा यहाँहरूको निरन्त साथ–सहयोग र रचनात्मक सुझाव प्राप्त भइरहने छ भन्नेमा हामी विश्वस्त छौँ ।